Logo

बागमती पेज

मंसिर २८, २०७७ आईतबार

कलंकी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो, ६ वटा सवारी साधनमा क्षति (अपडेट)


काठमाडौं । थानकोटबाट कलंकीतिर आउँदै गरेको मालवाहक ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा सो ट्रकले अरु ६ वटा सवारीलाई क्षति गरेको छ । दुर्घटनामा परेर एक जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई (परियार)को निधन भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बोहराले बताए ।

शुक्रबार साँझ काठमाडौं महानगरपालिका–१६ स्थित ढुंगेअड्डामा प्रदेश–२–०३–००१ख १४२० नम्बरको ट्रकको ब्रेक फेल भएको थियो । दुर्घटनामा च्यापिएका घाइतेलाई डिएसपी बोहरा, ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्की र स्थानीयले उद्धार गरेका छन् । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सप्तरी घर भएका २६ वर्षीय रन्जित चौधरीको अवस्था गम्भिर छ ।

दुर्घटनामा परेर ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएको ट्रकको ठक्करबाट बा.२ ज २०४७ नम्बरको ट्याक्सि, बा.४च २२१ नम्बरको पिकअप भ्यान (डिआई), बा.४ख ३२५२ नम्बरको बस र बा.५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ । त्यस्तै, प्रदेश ३–०२००६प १३४१ नम्बरको मोटरसाइकल र बा.४७ प २४५१ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।