Logo

बागमती पेज

मंसिर २९, २०७७ सोमबार

ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान


काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९ औं साधारण सभामा भाग लिन ओमानको मस्कट प्रस्थान गरेका छन् ।

साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि मतदान हुनेछ । अध्यक्ष जीवनराम र महासचिव निलेन्द्रराजले उक्त मतदानमा भाग लिनेछन् ।

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ ।

मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद र कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टाछुट्टै वार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन् । त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ ।

त्यसपछि हुने चुनावमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ ।

यस्तै ओसीए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ ।

सभाले आगामी साधारण सभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ ।