Logo

बागमती पेज

मंसिर ३०, २०७७ मंगलबार

विष्णुमति करिडोरमा ल्यान्ड पुलिङ सम्बन्धि छलफल सम्पन्न


काठमाडौं । विष्णुमति करिडोरमा ल्यान्ड पुलिङ सम्बन्धि छलफल सम्पन्न सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा बूढानीलकण्ठ नगरपालिकाको सभा हलमा भएको उक्त छलफलमा विष्णुमति नदि कोरिडोर र सो क्षेत्रको जग्गा एकीकरणका बारेमा छलफल भएको थियो।

विष्णुमति क्षेत्रका जग्गाहरुलाई एकीकरण गर्दै आधुनिक तथा सुविधा सम्पन्न शहर निर्माण तथा विष्णुमति कोरिडोर क्षेत्रको सौन्दर्यिकरण लगायतका विषयमा सरोकारवाला क्षेत्रका जनप्रतिनिधिहरुको छलफलमा दिर्घकालिन र अल्पकालीन योजना तथा कार्यक्रमहरुका बारेमा अन्तरक्रिया गरिएको थियो।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल, उपप्रमुख रमा राई, टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, बूढानीलकण्ठ नगरपालिका वडा नं ४, ५ र ६ का अध्यक्ष क्रमशः राजु खड्का, विजय तामाङ, नबिन केसी, टोखा नगरपालिका वडा नं २ र ६ का अध्यक्ष दिपक राज जोशी र महेश्वर केसी, विभिन्न वडाका सदस्यहरु र सम्बन्धित निकायका सरकारी प्रतिनीधिका बिचमा भएको छलफलमा सो क्षेत्रको सम्भाव्यता अध्ययन शुरु गर्ने निर्णय गरिएको छ ।

काठमाडौं उपत्यकाका नदी सभ्यतामा निकै महत्व राख्ने विष्णुमति नदी किनारमा व्यवस्थित शहर र मौलिक भौतिक पूर्वाधार निर्माणका लागि आगामी दिनमा बृहत छलफल र अन्तरक्रिया गर्ने बताउँदै बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौलाले प्रारम्भिक चरणमा सम्भावना र अवसरको खोजि गरिने जानकारी दिएका छन् ।