Logo

बागमती पेज

पुस ३, २०७७ शुक्रबार

बालविवाह गराउने अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ


काठमाडौं । बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई उदयपुरबाट प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका-३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका-५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।

गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिभावक सहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए । राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका-६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् ।

दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।