Logo

बागमती पेज

पुस ४, २०७७ शनिबार

सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ: मुख्यमन्त्री पौडेल


dormani_poudel

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् । चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको बताए ।

“परिवर्तनका लागि जनतामा गीत–सङ्गीत र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन”, उनले भने, “देशमा ठूला परिवर्तनका लागि गीत–सङ्गीतले महत्वपूर्ण भूमिका खेलेको छ ।” राष्ट्र निर्माणमा गीतकार, सङ्गीतकार, कलाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ । “कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङ्गो मुलुकलाई परिवर्तन गर्न सक्छ”, उनले भने । हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उनले बताए ।

मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भए पनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताए ।

देशमा जुनसुकै तन्त्र आए पनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उहाँले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए । “देशमा राज्य व्यवस्था फरक हुँदैमा केही हुँदैन”, उनले भने, “परिवर्तनका लागि सकरात्मक सोचको विकास गरौँ ।” नेपाली गीत सङ्गीत, भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उनको जोड छ । नेपाली लोकसङ्गीत नसुन्ने अहिले गाउँदै हिँड्न थालेका मुख्यन्त्री पौडेलले बताए ।

कार्यक्रममा यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । उनलाई मुख्यमन्त्री पौडेलले नगद रु एक लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरे । सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले पुरस्कार सम्पूर्ण साहित्य जगत्लाई प्रदान गरेको अनुभूत आफूले गरेको बताए ।

यस्तै यस वर्षको उत्कृष्ट गीतकारका रूपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । कार्यक्रम गीतकार सङ्घका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।