Logo

बागमती पेज

पुस १३, २०७७ सोमबार

आन्तरिक पर्यटन चलायमान बनाउन गोकर्णेश्वरमा पदयात्रा


काठमाडौं । गोकर्णेश्वर नगरपालिका भित्र रहेका पर्यटकीय सम्भावना बोकेको स्थानहरुको प्रचार तथा प्रवद्र्धनमा चासो देखाउन थालिएको छ । धार्मिक तथा प्राकृतिक महत्व समेत रहेको गोकर्ण हुँदै तारेभिर-सुन्दरीजल क्षेत्र सम्मको पद यात्रा सम्पन्न भएको छ ।

शुभारम्भ कार्यक्रममा वडा समितिका पदाधिकारी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतको उपस्थितिमा भएको पदयात्रा शनिबार गोकर्णेश्वर नगरपालिका-९ को आयोजनामा संचालन भएको हो । कोभिड १९ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सतर्कता अपनाउदै पदयात्रा आयोजना गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले जानकारी गराए ।

पर्यटकीय गन्तव्यको प्रचूर सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले बिगतका वर्षमा पनि गोकणर् देखि बाग्द्वार सम्म पदयात्रा गरिएको बताए । अध्यक्ष राजिब थापाले भने पदयात्रामा सहभागी हुनेले प्राकृतिक वातावरणलाई नजीकबाट नियाल्ने मौका पाउने र स्वास्थ्यका लागि पनि राम्रो कसरत हुने बताए ।

काठमाडौँको आरुबारी स्थित गोकर्णेश्वर -९ को कार्यलयबाट शुरु भएको पदयात्रा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पेरिफेरी जगडोल तारेभिर हुँदै सुन्दरीजल सम्म पुगेको थियो । पदयात्रामा समाजका विभिन्न क्षेत्रका करीब १५० जनाको सहभागिता रहेको पदयात्रा कार्यक्रमको शुभारम्भ गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले टिसर्ट वितरण गर्दै शुभारम्भ गरेका थिए ।

पदयात्राको शुभारम्भ गर्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाई धन्यवाद दिँदै स्वास्थ्य सतर्कता अपनाएर थालिएको यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको पुनःउत्थान हुने बिस्वास ब्यक्त गरे । नगर प्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिकाका बिभिन्न वडामा रहेका धार्मिक ऐतिहासिक तथा प्राकृतिक सम्भावना बोकेको क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गरे ।