Logo

बागमती पेज

पुस २६, २०७७ आईतबार

‘बिजुलीझैँ चम्केर विमान समुद्रमा खस्यो र विस्फोट भयो’


काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै बोइङ ७३७ विमान सम्पर्कविहीन बनेको छ । बजेट एयरलाइन्स श्रीविजया एयरको विमानमा चालक दलसहित ६२ जना सवार थिए । विमान समुद्रमा दुर्घटना भएको आशंका गरिएको छ ।

जकार्ताबाट पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि जकार्ता विमानस्थलबाट उडान भरेको चार मिनेटमा नै विमान सम्पर्कविहीन बनेको थियो । फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो ।

प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फोट सुनेको र देखेको बताएका छन् । माछा मार्दै गरेका सोलिहिनले आफूले विमान दुर्घटना भएको देखेको र त्यसपश्चात जहाजको कप्तानले जमिनमा फर्कने निर्णय गरेको बताएका छन् । ‘विमान बिजुली चम्केको जस्तै गरी समुद्रमा खस्यो र पानीमा विस्फोट भयो,’ उनले भने, ‘यो हाम्रो जहाजभन्दा निकै नजिक भएको थियो, विस्फोटबाट उच्छिटिएको प्लाइले झण्डै हामीलाई लाग्यो ।’

विमान हराएको स्थानबाट नजिकका टापुका मानिसहरुले कथितरुपमा विमानको भगनावशेष फेला पारेको बताएका छन् ।

एसजेवाई१८२ कल साइन भएको विमानमा ५० जना यात्रु थिए जसमा सात बालबालिका र तीन नवजात थिए । १२ जना चालक दलका सदस्य थिए । विमानको रजिस्ट्रेसनका अनुसार बोइङ ७३७–५०० मोडलको विमान २६ वर्ष पुरानो थियो ।

इन्डोनेसियाको यातायात मन्त्रालयले विमानको खोजी कार्य भइरहेको र यसका लागि चार युद्धपोत सहित दर्जनौँ जहाज परिचालन गरिएको जानकारी दिएको छ ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाका कै लायन एयरको विमान उडान भरेको १२ मिनेटमा नै दुर्र्घटनाग्रस्त हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।