चितवन । चितवनमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता रामहरी खतिवडाले जनताले पाँच वर्ष सरकार चलाउन दिएको झण्डै दुईतिहाइको बहुमतलाई कम्युनिस्टहरूले बचाउन नसकेको बताए । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गरेको बताउँदै खतिवडाले भने, ‘संसद विघटन गरेसँगै नेपालबाट कम्युनिस्टहरुको चुनाव जित्ने दिन सकिएको छ ।’
न्यायपालिकाले गर्ने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताएका छन् । ‘कसैले न्यायालयलाई थ्रेट गर्छ भने हामीलाई मान्य छैन’, उनले भने, ‘पार्टीको सदस्य भएको मान्छेलाई न्यायाधीश बनाउने हो भने त्यसले सहि फैसला गर्न सक्दैन भनेर मैले शुरुदेखिनै भने हुँ ।’
कांग्रेस नेता खतिवडाले चुनावका लागि आफूहरू सधैँ तयारी अवस्थामा रहेको बताएका छन् । उनले भने, ‘संसद पुनःस्थापना भएपनि, नभएपनि कांग्रेस चुनावका लागि तयारी अवस्थामा छ ।’
संसद पुनःस्थापना भयो भने पनि त्रिशंकु संसद रहनेभन्दै कांग्रेस नेता खतिवडाले संसदमा झन् बेथिति निम्तने बताए । ‘संसद पुनःस्थापना भयो भने हँग पार्लियामेन्ट बन्छ । त्यसपछि अस्थिरता निम्तन सक्छ’, उनले भने, ‘चुनावमा जानुपर्छ । यहि चितवनबाट कम्युनिस्टलाई स्वाहा पार्नुपर्छ ।’
खतिवडाले भने जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको कांग्रेस नेता खतिवडाले बताएका छन् । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ ।’
मुलुकमा कांग्रेसले मात्रै तोकिएको समयमा निर्वाचन गरेको जानकारी गराउँदै नेता खतिवडाले भने, ‘मुलुक नहारोस् भनेर कांग्रेस आफू हारेर पनि कम्युनिस्टलाई जिताएको छ ।’
कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई समेटेको उनले बताएका छन् । ‘सबैलाई ल्याएर कांग्रेसको नेतृत्वमा संविधान बनायौँ । सबै अट्ने संविधान बन्यो’, उनले भनेका छन्, ‘रुखले सबैलाई छाहारी दिन्छ । भेदभाव गर्दैन ।’

                            

            











            
            
            
            
प्रतिक्रिया दिनुहोस्