Logo

बागमती पेज

पुस २६, २०७७ आईतबार

नगर प्रमुख खत्रीद्वारा सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हतियार सेनालाई हस्तान्तरण


सिन्धुली । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग गरिएका घरेलु हतियार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । आइतबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले दुई भाले खुडा र एउटा तरबार नेपाली सेनालाई बुझाइएका हुन् ।

विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । उनले आज आफ्नो घरमा भएको एउट भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति धुर्व शाहलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि नगर प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुख्र्यौंली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलयमा राखिनेसमेत उनले जानकारी दिए ।

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुडा, खुकरी र एउटा धनुषबाण जम्मा भएको जानकारी दिए ।

अङ्ग्रेज फौजलाई हराएको सम्झनामा हरेक कात्तिक २४ गते नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो । त्यसयता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।