Logo

बागमती पेज

माघ ३, २०७७ शनिबार

सात वर्षपछि फरार अभियुक्त पक्राउ


चितवन । चितवन राष्ट्रिय निकुञ्जले सात वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य इलाकाबाट सालको काठ तस्करीमा सम्लग्न रहेका अभियुक्तलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२४ का जगतपुरका २७ वर्षीय सन्तोष विक रहेका छन् ।

निजले बिसं २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु आठ हजार जरिवाना गरिएको उनले जानकारी दिए ।

विकलाई निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाइएको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीव्रता दिएको छ । गत महिना मात्रै गैँडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।