Logo

बागमती पेज

माघ २१, २०७७ बुधबार

रामेछापको खाँडादेवी एकीकृत बस्ति तयार: मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन हुँदै


काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझीगाउँमा एकीकृत नमुना बस्ती तयार भएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा बस्ती निर्माण भएको हो ।

एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । एकिकृत नमुना बस्तीको माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले जानकारी दिएका छन् । नमुना बस्ती निर्माणका लागि बागमती प्रदेशको कृषि निर्देशनालय मार्फत रकम विनियोजना गरिएको हो ।

एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका साथै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतको सहभागिता हुने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

वडाध्यक्ष पुष्कर कार्कीका अनुसार बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा र र्‍याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना समेत रहेको छ ।

सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।

यस अघि पनि बागमती प्रदेश सरकारले सिन्धुली जिल्लामा निर्माण गरिएको एकीकृत बस्ति हस्तान्तरण गरिसकेको छ।