Logo

बागमती पेज

माघ २३, २०७७ शुक्रबार

आज नारायणहिटी अगाडि ओली समूहको जनसभा, शीर्ष नेताले सम्बोधन गर्दै


काठमाडौं । नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् ।

सो समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी गाडि आमसभा गर्न लागेको हो ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।

मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा मोटरसाइकल र्याली समेत गरेको थियो । नेकपाकै प्रचण्ड-नेपाल समूहले उनको असंवैधानिक कदमको विरोधमा आन्दोलन गर्दै आएको छ ।