Logo

बागमती पेज

फाल्गुन १३, २०७७ बिहीबार

भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानकर्ता दुई प्रहरीको बढुवा


काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।

प्रहरी नायव निरीक्षकमा बढुवा भएका पदमबहादुरले गत कार्तिक पहिलो साता अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या प्रकरणमा पनि सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । परिणामस्वरुप प्रहरीले हत्यामा संलग्नहरुलाई केही दिनमै पक्राउ गर्न सफलता पाएको थियो ।

यस्तै, प्रहरी हवल्दारमा बढुवा भएका नरबहादुर थापाले माघ ११ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्यामा समेत अनुसन्धानको पाटोमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । भुललाई भाइ नाता पर्ने दलबहादुर विकले रातिको समयमा हत्या गरी गहना लुटेका थिए । घटना लगत्तै सो स्थानमा भएका कागज, पैतालाको डोब पहिचान गरी प्रहरीले अनुसन्धानमा सफलता पाएको थियो । अनुसन्धानकै क्रममा दलबहादुरमाथि शंका लागि खानतलासी गर्दा लुटिएको सुन र हत्यामा प्रयोग गरिएका हतियार फेला परेपछि निजलाई पक्राउ गरिएको थियो ।

बुधबार बढुवा भएका दुवैलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । भागरथीको हत्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भनाइ छ । उनीहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताए ।