Logo

बागमती पेज

फाल्गुन १३, २०७७ बिहीबार

देउवाको नेतृत्वमा सरकार बन्न नहुने थापाको भनाइ


काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले संसद विघटन पछिको राजनीतिक घटनाक्रम हेर्दा प्रधानमन्त्री केपी ओली जत्तिकै दोषी पार्टी सभापति शेरबहादुर देउवा पनि भएको बताएका छन्। थापाले देउवाले दिएका ‘स्टेटमेन्ट’हरुले कांग्रेसको भूमिकालाई कमजोर बनाएको पनि बताएका हुन्।

‘कतिपय ठाउँमा नेतृत्वहरूले यो असंवैधानिक हो भन्ने हाम्रो ठहर छ, तर अदालतले संवैधानिक भनिदियो भने पनि हामी त्यसमा बेखुस हुँदैनौं भन्ने ‘स्टेटमेन्ट’ दिएपछि हाम्रो मुद्दा नै बलियो भएन। यो स्टेटमेन्ट जसरी पार्टी उच्च नेतृत्वबाट लगातार आइरह्यो, त्यसले कार्यकर्तामा अलमलको स्थिति सिर्जना गर्‍यो। पार्टीभन्दा बाहिरको पंक्तिलाई कांग्रेसको निर्णय एउटा छ, व्याख्या अर्को छ भन्ने भयो,’ भन्दै थापाले भने, ‘त्यसकारण उच्च नेतृत्वको त्यो स्टेटमेन्टले नै हो हामीलाई अलमलमा पुर्‍याएको ।’

थापाले संसद विघटनमा ओलीसँगै देउवाको पनि साठगाँठ भएको हुनसक्ने संकेत गरे। बैशाखमा नै चुनाव हुन्छ भन्ने विश्वास देउवामा भएको भन्दै संसद विघटनमा देउवाको पनि अपरोक्ष भूमिका हुनसक्ने उनको आंकलन छ।

‘व्यक्तिगत फाइदा हेरियो भन्दिनँ। व्यक्तिगत फाइदा त संसद्को पुनःस्थापना भएर आउँदै गर्दा पनि कांग्रेस नेतृत्वलाई थियो, अहिले पनि होला। त्यो राजनीतिक सुझबुझ पनि ठीक ढंगले पुगेन। मैले अहिलेसम्म पनि बुझ्न नसकेको संसद् विघटन भइसकेपछि वैशाखमा चुनाव हुन्छ भन्ने नेतृत्वमा विश्वास निरन्तर रहेको पाएँ।’

थापाले अब ओलीको र देउवाको सम्मिकरण बन्न सक्ने भन्दै त्यसलाई हरहालतमा रोकिने दाबी गरे। उनले कांग्रेसले सरकारमा जाने म्यान्डेट नपाएको भन्दै अब पनि प्रतिपक्षमा नै बस्नु पर्ने बताए।

‘अहिले कांग्रेस सरकारमा जाने होइन। हामीले सरकार चलाउने म्यान्डेट पाएकै हैन, हामी त्यतातिर जानैहुन्न। त्यसको निम्ति कुनै समीकरणको आवश्यकता नै परेन। प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको लडाइँ लडेर आइसकेपछि अहिले उहाँसँगै साझेदारी, सहकार्यको निम्ति कुनै समीकरण बनाउनेबारे पार्टीले सोच्नु पनि हुँदैन। अहिलेका लागि केपी ओलीसँग कुनै समीकरण हुँदैन। भोलि होला। तर यो बिन्दुमा भने हुँदैन,’ उनले भने।

थापाले अब कांग्रेसले प्रधानमन्त्रीले लिएको संसद विघटनको कदमलाई गलत सावित गर्न लाग्नु पर्ने बताए। उनले यो समय ‘लड्डु’ खाएर बस्ने समय नभएको भन्दै देउवा प्रधानमन्त्री हुन नहुने बताए। ‘अहिले लड्डु खाएर बस्ने बेलाभन्दा पनि सुझबुझ पुर्‍याएर उहाँका भनाई गलत सावित गर्नेतर्फ लाग्नुपर्छ। ठीक नियत राखेर काम गर्न सकेनौं भने उहाँ ठीक सावित हुनुहुन्छ,’ उनले भने।

थापाले प्रधानमन्त्रीसँग नैतिकताको प्रश्न गर्नु नै बेकार भएको पनि बताए। उनले भने, ‘प्रधानमन्त्रीले संसद् विघटन गर्ने सिफारिस गर्ने दिन नै राजीनामा गर्नुपर्दथ्यो। अब त प्रधानमन्त्रीसँग नैतिकताको अपेक्षा मचाहिँ गर्दिनँ। उहाँ ‘इगो’, अहंकारले भरिएको मान्छे हो। त्यो हिसाबले हेर्दा उहाँले राजीनामा दिनुहुन्छ कि जस्तो लागेको थियो।’