Logo

बागमती पेज

फाल्गुन २४, २०७७ सोमबार

बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ


काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी छन् ।

उनीहरुको साथबाट ११ लाख घुस रकम बरामद गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले बताए । भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका थुनुवालाई छुटाउँछु भनेर उनीहरुले घुस लिएका थिए ।

माघ १७ मा रामेछाप लिखु–तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिन्छु भनेर उनीहरुले घुस मागेका हुन् ।

भारतबाट बा१८च ७५११ नम्बरको गाडीमा भन्सार छलेर ल्याएको मोवाइल प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । सो मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो ।