Logo

बागमती पेज

फाल्गुन २६, २०७७ बुधबार

माधव नेपाल पक्षको निश्कर्ष : पार्टी एकताबद्ध बनाउने जिम्मेवारी ओलीको काँधमा


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ ।

बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक भुमिका अध्यक्ष केपी ओलीको हुने भएकाले त्यसतर्फ सचेत गराइने पन्तको भनाइ छ ।

‘विकसित घटनाक्रमपछि कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफल भयो र त्यसका लागि निर्णायक भूमिका पार्टी अध्यक्षकै हुन्छ भन्ने निश्कर्ष पनि निकालियो’ पन्तले भने, ‘आफू अन्तर्गतका कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह भेलाले गरेको छ ।’

उनले प्रतिनिधि सभा विघटनपछि विचारहरु फरक भएपनि अव ति कुराहरु बिर्सेर अघि बढ्नुपर्ने आवश्यक्ता ठहर गरेको बताए  । ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ-आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तको भनाइ छ ।

त्यस्तै एमाले र माओवादीबीच तत्काल एकता सम्भव नभएपनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको छ । पन्तले वामपन्थीहरूको मोर्चा र सरकार बनाउनु उपयुक्त हुने निश्कर्ष निकालेको जानकारी दिए ।