Logo

बागमती पेज

चैत्र ४, २०७७ बुधबार

नवीन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ : नर्भिक अस्पताल


काठमाडौं । नर्भिक अस्पतालले कांग्रेस नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ ।

केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको जनाएको हो ।

“यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ,” जारी विज्ञप्तिमा भनिएको छ, “फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।”

मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिएका छन ।

उनले भने , ‘जोशीको उपचार भइरहेको छ, स्वास्थ्य स्थिर छ, तर बजार हल्ला जस्तो केही होइन् ।’

यस्तै जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा भन्छन , ‘ उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’