Logo

बागमती पेज

चैत्र १२, २०७७ बिहीबार

तिलोत्तमालाई उत्कृष्ट नगरपालिका पुरस्कार


काठमाडौं ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ ।

मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकोले त्यसको उच्च मूल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । तिलोत्तमा सँगै आर्थिक तथा राजस्व प्रशासनतर्फ कन्काई नगरपालिका र शहरी योजना तथा वातावरण व्यवस्थापनतर्फ वालिङ नगरपालिका पनि पुरस्कृत भएका छन् ।

संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए ।

उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकको आधारमा उत्कृष्ट घोषणा गरिएको बताएका थिए ।