Logo

मेघनाथ पहाडी

चैत्र १३, २०७७ शुक्रबार

फिक्कलमा गाउँघर क्लिनिक उद्घाटन, स्थानीयमा छायो खुशीयाली…


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका स्थित दुर्गम क्षेत्रमा रहेको जाङ्जाङमा गाउँघर स्वास्थ्य क्लिनिकको उद्घाटन भएको छ । फिक्कल गाउँपालिका-५ को अति दुर्गम स्थान जाङ्जाङमा गाउँघर क्लिनिकको उद्घाटन हुँदा स्थानीयमा खुशीयाली छाएको हो ।

स्थानीय भन्छन्, ‘सामान्य औषधी र उपचारका लागि यहाँ क्लिनिक सम्म नहुँदा हामी सदरमुकाम सम्म पुग्नुपर्ने बाध्यता थियो । शुक्रबारबाट स्थानीय सरकारले हाम्रो समस्याको समाधानमा आशा र विश्वास दिलाएको छ ।’

स्वास्थ्य, शिक्षा, सडक र बिजुलीको पहुचबाट टाडा रहेका जाङजाङवासीहरु क्लिनिकको उद्घाटन हुँदा निकै उत्साहित बनेको फिक्कल-५ का वडाध्यक्ष राजु बरालले जनाएका छन् । आगामी दिनमा यस क्लिनिकबाट थप सेवा उपलब्ध हुनेमा स्थानीयहरु विश्वस्त रहेका छन् । उनीहरुले स्थानीय सरकारलाई धन्यवाद समेत व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको प्रमुख अतिथ्यतामा जाङ्जाङमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको हो । यहाँ भएका समस्याहरु समाधान गर्दै जाने जोड दिँदै  अध्यक्ष कार्कीले क्लिनिकबाट स्थानीयहरुको उपचारमा ध्यान दिन अनुरोध समेत गरे । गाउँपालिकाको योजना अनुसार सडक-बाटो पछि स्वास्थ्यलाई प्रभावकारी बनाउन गाउँघर क्लिनिकको स्थापना गरिएको हो ।

फिक्कल-५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता राजु बरालले जाङ्जाङमा क्लिनिक उद्घाटन भएसँगै स्थानीयलाई त्यहिबाट सामान्य औषधी र उपाचार पाउनेमा विश्वस्त रहन आग्रह गरे । वडाध्यक्ष बरालले निकै दुर्गम मानिने जाङ्जाङवासीलाई आवश्यक्ता अनुसारका सेवा सुविधा वडा र पालिकाबाट क्रमिक रुपमा उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाएका छन् ।

फिक्कल गाउँपालिका स्वास्थ्य प्रमुख लेखनाथ फुँयालका अनुसार क्लिनिकबाट खोप, सुरक्षित मातृत्व, ओपिडी, ५ वर्ष मुनिका बालबालिकाहरुको उपाचार, परिवार नियोजन लगायतका सेवा दैनिक रुपमा प्रदान गरिन्छ । नियमित संचालन हुँने क्लिनिकमा एकजाना स्वास्थ्यकर्मी र कार्यलय सहयोगी रहनेछन् ।

भवन निर्माण समिति तथा कार्यक्रमका अध्यक्ष शिव बुडाथोकीका अनुसार शुक्रबारबाट माथिल्लो जाङ्जाङ, तल्लो जाङ्जाङ, लहरेनी, काफलचुरी, देवीटार, महबिर, खोलाखर्क लागाएतका जनताहरुले क्लिनिकबाट सेवा लिन सक्ने जानकारी दिए ।