Logo

बागमती पेज

चैत्र १६, २०७७ सोमबार

‘ह्याप्पी होली’ भन्दै मधेसी नेतालाई प्रचण्डको फोन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोन गरे । प्रचण्डको फोन आउँदा मधेसी नेताहरु नयाँ सरकार गठनबारे कुरा गर्न लागेका हुन् भन्ने सोचाइमा थिए । तर, प्रचण्डले राजनीतिको कुरो गरेनन् ।

जसपाका एक नेताका अनुसार प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेका हुन् । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।

पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।

ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’

यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा माओवादी केन्द्र र जसपाबीच थप संवाद अगाडि बढाउने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।

जसपाका शीर्ष नेतामध्ये उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीविरोधी मोर्चा बनाउने लाइनमा भए पनि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई चाहिँ केपी ओलीले सकेसम्म आफ्नो कित्तामा ल्याउने, नसके पनि तटस्थ राख्ने प्रयास गरिरहेका छन् ।