Logo

बागमती पेज

चैत्र १८, २०७७ बुधबार

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार चुमे दिपक अर्यालले


काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका सह-सम्पादक दिपक अर्याल उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

 रिपोर्टस क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा अर्याल सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र र २० हजार नगद सहित सम्मान गरेका थिए । अर्याल खोज पत्रिका अनलाइनको पनि सह-सम्पादक हुन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका छन् ।

त्यस्तै, नेपाली संचार जगतको अग्रणी संस्था रिपोर्टस क्लबको २३ औ बार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि १ लाख रुपैयाँको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।

यसैगरी कुलप्रसाद-चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ छ । कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । शहीद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीले पाएका छन् । अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार रहेको छ ।

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप-सम्पादक बिनु सुवेदीलाई दिइएको छ । सुवेदीलाई दिइएको पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाएका छन् । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका अनन्त अनुरागलाई प्रदान गरिएको छ ।

अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप-सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह-सम्पादक मदन कोइराला, योहो टेलिभिजनका रोहन श्रेष्ठ लगायतलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।