Logo

बागमती पेज

बैशाख २, २०७८ बिहीबार

नव वर्षको शुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान (फोटोमा हेरौं)


काठमाडौँ ।  नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म नयाँ वर्षको विहान विष्णुमति नदी सफाई अभियान शुरु भएको हो ।

विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।  सरसफाइ अभियानमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघ-संस्था, बागमती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले थप हौसला प्राप्त भएको उनले बताए ।

जीवनमा गरेको अनेकौं क्रियाकलामहरुमा सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए । ‘यो अभियान एक जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हर एक नागरिकको अभियान हो ।

विष्णुमति खेला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’ खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।

सरसफाई अभियानमा सहभागि प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठको प्रसंसनीय कार्य हो ।’

‘मानव जीवनमा परिवर्तन ल्याउने हो भने, पहिले सोचमा नै परिवर्तन ल्याउनुपर्छ ।’ उनले भनिन्, ‘नदीमा फोहोर फ्याक्ने पनि मानव नै हो र त्यही फोहोर सफा गर्ने पनि मानव नै हो ।’

त्यसैले जवसम्म मानवमा जथाभावी फोहोर फ्याक्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फ्याकिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने छ ।’ सरसफाइ सबैकोलागि अति आवश्यकता हो, समाजलाई सफा राख्नुपर्छ फोहोर गर्न नहुने बताउँदै शाक्यले नयाँ वर्षको अवसरमा जथाभावी फोहोर गर्नु हुँदैन भन्ने चेतना सबैमा जागृत होस् शुभकामना समेत दिए ।

विष्णुमती नदीको उद्गम स्थल बुढानिलकष्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ । विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।

काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको पहल हुन लागेको जानकारी प्राप्त हुन आएको छ ।