Logo

बागमती पेज

बैशाख ११, २०७८ शनिबार

पुनर्निर्मित २२ तले धरहरा प्रधानमन्त्रीद्वारा उद्घाटन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । तर हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो । स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ । धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।