Logo

बागमती पेज

बैशाख १२, २०७८ आईतबार

काठमाडौं महानगरपालिका वडा नं ४ को नवनिर्मित भवन उद्घाटन


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार वडा नं. ४ को नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

२०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर २८ गते शिलान्यास गरि ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा काठमाडौंको मौलिकता झल्कने साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिटमा फैलिएको वडाध्यक्ष मोहन विष्टले बागमती पेजलाई जनाएका छन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले, समृद्ध भौतिक संरचनाबाट चुस्त सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै भवनको भव्यतालाई मुस्कान सहितको सेवाले सार्थक बनाउने विश्वास व्यक्त गरेका थिए ।

महानगरकी उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले वडा भवनहरुको निर्माणलाई जनप्रतिनिधिले पदवहाली गरेपछिको महत्वपूणर् उपलब्धी भएको उल्लेख गर्दै सेवा प्रवाहको गुणस्तरमा थप सुधार गर्नुपर्ने बताएकी छन् ।

त्यस्तै प्रदेश सभा सदस्य नारायण सिलवालले काठमाडौं महानगरले उपयुक्त योजनामा खर्च गरेकोले वडा भवन निर्माण हुन सकेको उल्लेख भन्दै वडा कार्यालयहरु सरकारका सेवा केन्द्र रहेको धारणा राखेका थिए ।

निर्वाचित भएको बर्ष कसरी काम गर्ने भन्नेमा दोधार रहेको अनुभव सुनाउँदै वडाका अध्यक्ष मोहनबहादुर विष्टले ४ बर्षमा आइपुग्दा वडामा विकासको जग बसाउन सकिएको बताएका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला, सीता अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सहित स्थानीयहरुको सहभागिता थियो ।

भवन उद्घाटन कार्यक्रमका अवसरमा महामारी व्यवस्थापनमा सहयोग गर्ने दाता, विकास निर्माणमा सघाउपुर्याउने क्लव, टोल सुधार समिति र उपभोक्ता समितिहरुलाई सम्मान समेत गरिएको थियो ।