Logo

बागमती पेज

बैशाख १२, २०७८ आईतबार

टोखामा कम्प्युटर तालिम सम्पन्न


काठमाडौं । टोखा नगरपालिकामा कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सम्पन्न भएको छ ।

टोखा नगरपालिकाको आयोजनामा युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालित सो तालिमको आज नगर प्रमुख प्रकाश अधिकारीले समापन गरेका हुन् ।

कार्यक्रमलाई संबोधन गर्दै टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरिरहेको बताएका थिए ।

नगरपालिकाको समग्र विकास र समृद्धिलाई ध्यानमा राखेर नगरपालिकाले कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे ।

टोखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोलले तालिममा प्लस टु उत्रिणर् गरेका युवा तथा विद्यार्थीहरु र स्नातक तह उत्रिणर् गृहिणी महिलाहरुको सहभागिता रहेको जानकारी दिएकी छन् । कम्प्युटरका विविध विषयहरु, आयकर, भ्याट लगायत लेखा संग सम्बन्धीत विषयहरुलाई समेटेर सहभागीहरुलाई तालिम दिइएको उपप्रमुख डंगोलले बताईन् ।

टोखा नगरपालिका-४ मा रहेको धापासी माध्यमिक विद्यालयमा २५ जना र वडा नं.३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा २५ जना युवा तथा विद्यार्थीहरुलाई कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सञ्चालन गरिएको हो । उक्त तालिम चैत्र २२ गतेदेखि संचालन गरिएको तालिम बैशाख ११ गते सम्पन्न गरिएको हो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत युवाहरुको सहभागिता रहेको थियो ।