Logo

बागमती पेज

बैशाख २२, २०७८ बुधबार

हराएको राष्ट्रियता !


मनको सगरमाथा चढेर म देश खोजी रहेछु ।
सिंहदरबारको दक्षिण ढोकामा टक्क अडिन्छु
बर्दिवालाबाट अपरिचित म
भित्र पस्ने अनुमति छैन
उसका परिचितहरु टेण्डरका कागजात
सहित
धमाधम भित्र गइरहेछन
मानौ त्यहाँ लिलामीको मेला छ ।

पर राष्ट्रको नुन पचाएकाहरुलाई
के थाह कहाँ हुन्छ देश
मैले सोधिन।
फरक्क फर्किएर नारायणहिटी पुगें
मान्छेजस्ता छांयाहरु अघिपछि गर्दै
मेरो बाटो छेक्न आतुर देखिन्थे ।
नबोलेपनि हाउभाउ नै प्रश्नित थिए
अझै कहाँ कहाँ खोज्ने ?
यस्तै खोजाइले
भेटिएला त देश?
मेरै माटोमा टेकेर मलाई नै प्रश्न ।

असह्य भएछ कतिखेर बालुवाटार पुगें पत्तै भएन
त्यहाँ त मोजाको टोपीलगाएका एकहुल लडाकुहरू
चौबन्दी चोलीबाट बनाइएका बुख्यचाहरु
पालैपालो नचाउदै अनि अर्का हुल
ढाका टोपी र दौरासुरुवालमा तारो हान्दै
खुकुरीका दापका छाला च्यातेर आफू
आफुमा भाग लगाउदै सुनसान
शितलनिवासलाई गिज्याइ रहेका थिए ।

त्यो सबै दृष्य चुपचाप देखिरहेको
मेरो अनागरिकी मौनतालाई
विसे नगर्चि चिर्दै थिए मैले सिर्जेको चौबन्दी र दौरा सुरुवाल
तिमीहरूको
शरिरमा किन नसुहाएको ?
फटाएको जिन्स र पत्लुनमा
किन गर्व गर्छौ ?
के मैले सिलाएको ढाकाटोपी उध्रिए सरी
मेचीकाली उध्रिदा तिमीलाई दुख्दैन? टुलु टुलु हेरिरहन्छौ त ?
अब समयले तिमीभित्र हराएको विद्धवता
अनि राष्ट्रियता खोज्ने कि
तिमी देश खोज्दै हिड्छौ ?