Logo

बागमती पेज

बैशाख २८, २०७८ मंगलबार

पूर्वराजा ज्ञानेन्द्र शाहले जिते कोरोना


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

२ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ । यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

पूर्वरानी शाहको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालको भनाइ छ ।