Logo

बागमती पेज

जेष्ठ १, २०७८ शनिबार

बागमती प्रदेशको अनुदानमा निजामती कर्मचारी अस्पतालमा १५० कोभिड बेड


काठमाडौं । निजामति कर्मचारी अस्पतलमा १५० बेडको कोभिड अस्पताल संचालनका लागि बागमती प्रदेश सरकार संग सम्झौता भएको छ । सिभिल अस्पतालमा कोरोना संक्रमितको उपचारमा सहज होस् भन्ने उद्धेश्यले प्रदेश सरकारले उक्त सहयोग गरेको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल बीच भएको सम्झौता अनुसार प्रदेश सरकारले २ करोड २४ लाख ५० हजार अनुदान सहयोग उपलव्ध गराउने भएको हो । प्रदेश सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीको उपस्थितिमा प्रदेश सरकारको तर्फबाट वरिष्ठ प्रशासक डा.अर्जुन सापकोटाले सिभिल अस्पतालका निर्देशक डा.विधान निधि पौडेललाई सहयोग हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री अधिकारीले कोरोना संक्रमण बढिरहँदा अस्पतालहरुमा बेड तथा अक्सिजनको अभावले संक्रमितहरुको मृत्य भइरहेको अवस्थामा सिभिल अस्पताललाई डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न प्रदेश सरकारले सहयोग गरेको बताए । अस्पतालमा अक्सिजन प्लान्ट तथा पाइप जडान लगायतका काममा सहयोग पुग्ने र यसले संक्रमितहरुको उपचारमा सहज हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौला तथा बागमती प्रदेश सांसद गणेश दुलाल लगायतको समेत उपस्थिति रहेको थियो ।