Logo

मेघनाथ पहाडी

जेष्ठ १२, २०७८ बुधबार

काठमाडौं महानगरपालिका -६ मा अक्सिजन सहित १० वेडको आइसोलेशन सेन्टर संचालन


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ मा अक्सिजन सहित १० वेडको आइसोलेशन सेन्टर संचालनमा आएको छ ।

महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिपेन्द्र लामाका अनुसार वडा नं. ६ महांकाल स्थित रहेको जनकल्याण माविमा १० वेडको आइसोलेशन संचालनमा ल्याईएको हो । आगामी दिनमा वडाको नेतृत्व तथा विभिन्न संघ–संस्थाहरुको पहलमा १० वेड थप गरि जम्मा २० वेड संचालनमा ल्याउने तयारी गरिएको समेत लामाले बागमती पेजलाई जनाएका छन् ।

आइसोलेशनमा बस्ने कोरोना संक्रमितहरुलाई विभिन्न खाना, स्वास्थ्य सामग्री लगायतका अन्य आवश्यकिय सामग्री निःशुल्क उपलब्ध गराउने सहजकर्ता तथा सरस्वती नगर टोल सुधार समितिका अध्यक्ष पेशल कुमार पहाडीले जानकारी दिएका छन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले आइसोलेशन संचालनको लागि विभिन्न संघ संस्थाबाट पहल गर्ने र आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

आइसोलेशन संचालन गर्न आर्ट फर लिभिङ, ह्याल्मो मिडिया गु्रप तथा हिल नेपाल, युथ एण्ड सोसाईटी समूह, सरस्वती नगर सुधार संघ, पानीपोखरी युवा क्लब, टुसाल युवा क्लब लगायतका विभिन्न संघसंस्थाले सहयोग गर्ने वडा सदस्य तथा आइसोलेशन संयोजक जयराम पुडासैनीले जनाएका छन् ।