Logo

बागमती पेज

असार २५, २०७८ शुक्रबार

गोकर्णेश्वर नगरपालिकामा अत्याधुनिक फोहर व्यवस्थापन यन्त्र


काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ ।

नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको बागमती किनारमा सो यन्त्र जडान गरिएको नगरप्रमुख सन्तोष चालिसेले बागमती पेजलाइ जानकारी दिए । नगरपालिकाले तीन वर्षअघि नै ल्याएको यन्त्र प्राविधिक कारणले जडानमा ढिलाइ भएको हो ।

रु पाँच करोडको लागतमा फोहर व्यवस्थापन गर्ने दुईवटा यन्त्र ल्याइएकामा एउटा जडान गरिएको छ । अर्को यन्त्र जडान गर्न बाँकी छ । साउनदेखि नै यन्त्र सञ्चालन शुरु गरी फोहर व्यवस्थापन गरिने उनले बताए । यन्त्र जडान गरेपछि अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका हुने जनाइएको छ । यन्त्रले फोहर दहन गर्नेछ । वातावरणमैत्री यन्त्र भएकाले स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ ।

यन्त्र जडानसँगै सामाजिक चेतना र फोहर वर्गीकरणका लागि कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ वाग्मती सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी । यन्त्रलाई बढी प्रभावकारी र उपयोगी बनाउने गरी काम गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

घरान नै फोहर वर्गीकरण गर्दा झण्डै ८० प्रतिशत कमी आउने जनाइएको छ । कुहिने फोहरलाई घर बाहिर फाल्न बर्जित गर्ने कानूनको तर्जुमा गर्नसक्दा यन्त्र प्रयोगले सार्थकता पाउने उहाँको भनाइ छ । यसैगरी बिक्री हुने र बिक्री नहुने फोहोरको वर्गीकरणलाई अनिवार्य शर्तका रूपमा नगरवासीले स्वीकार गर्ने वातावरण बनाइनुपर्छ ।

कुहिने फोहोरबाट मल बनाउने, नकुहिनेमा पनि बिक्री हुने फोहरलाई अलग राख्ने र प्लाष्टिक प्रयोगलाई बर्जित गरेर यन्त्रले धेरै भार खप्नु नपर्ने अभियानकर्मीको सुझाव छ । सुक्खा फोहोरका लागि उपयुक्त यन्त्रमा अन्य फोहोरले असर पुर्याउन सक्नेतर्फ पनि अभियानकर्मीले सचेत गराएका छन् ।