Logo

मेघनाथ पहाडी

श्रावण १७, २०७८ आईतबार

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको निःशुल्क खोप


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ५१ हजार जनाले कोरोना विरुद्धको खोप पाएका छन् । नगरपालिकाको पहलमा बूढानीलकण्ठ क्षेत्रभित्र बसोबास गर्ने ५१ हजार भन्दा बढी व्यक्तिले निःशुल्क खोप लगाएका हुन् ।

नेपालमा कोरोना विरुद्धको खोप सुरु भएदेखि हाल सम्म विभिन्न उमेर समूहका ५१ हजार पाँच सय ८२ जनाले निःशुल्क खोप सेवा लिएको नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत डा. अङ्कित पौडेलले बताउनुभयो । ‘अहिले सम्म हाम्रो तथ्याङक अनुसार नगरपालिका भित्र ५१ हजार भन्दा बढि नागरिकले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।’ उहाँले रासससँग भन्नुभयो, ‘अहिले खोप अभियानलाई वडावडाबाट प्रभावकारी रुपमा चलाइरहेका छौं ।’ बूढानीलकण्ठमा खोप लगाउन उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमतिपत्र वा वडाको सिफारिस) अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

बूढानीलकण्ठमा कोभिसिल्ड पाँच हजार पाँच सय बीस जनाले लाएका छन् । भेरोसेल ३८ हजार आठ सय ८२ डोज लगायका छन् । त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप ७ हजार दुईसय जनाले लगाएका छन् ।

नगरपालिकामा सिमित खोप उपलब्ध भएपनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नबराज भट्टराई बताउनुभयो । नगरबासीलाई कोरोना संक्रमणबाट बचाउन माग र आवश्यकता अनुसार खोप ल्याउन सहजिकरण गरिने उहाँको भनाई छ । ‘खोपको अभाव छ । थोरै प्राप्त हुन्छ तर सबैलाई दिने रहरहुँदा हुँदै सिमित उपलब्धका कारण एकै पटक सम्भव छैन ।’ उहाँले भन्नुभयो, ‘महामारी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो । सबै नागरिकलाई खोप दिन प्रयत्न गरिन्छ ।’ लक्षित समूह र तोकिएको क्षेत्रलाई आएको खोपको दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो ।

बूढानीलकण्ठमा यसअघि दुईवटा खोप केन्द्र संचालन गरिएको थियो । शुक्रबारबाट नगरपालिका भित्र आठ वटा खोप केन्द्र मार्फत खोप कार्यक्रम चलिरहेको छ । – रासस