Logo

बागमती पेज

श्रावण २५, २०७८ सोमबार

मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता


लियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन जाने पक्का ! यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भइसकेको छ ।

स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर ‘फाइनास्यिल फेयर प्ले’ अनुसार पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने दाबी गरिएको छ । ‘आर्थिक अनुशासनमा पीएसीको अवस्था बार्सिलोनाको भन्दा खत्तम रहेको छ,’ डा. हुवान ब्राङ्कोले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘सन् २०१९/२० मा पीएसजीको ९९ प्रतिशत आम्दानी खेलाडीको तलबमा खर्च गरिएको थियो जबकी बार्सिलोनाको ५४ प्रतिशत मात्र यसमा खर्च भएको छ ।’

फ्रेन्च क्लबको खर्चका कारण प्रतियोगितामा असर पर्ने दाबी गर्दै उजुरीकर्ताहरुले मेस्सीलाई पीएजसी जानबाट रोक्न चाहेका छन् । मेस्सीले आफ्नो तलब ५० प्रतिशत घटाउँदा पनि युरोपियन नियामक निकाय र ला लिगाले तोकेको मापदण्डभन्दा ११० प्रतिशत हुने भएकै कारण जोआन लापोर्टाले उनको करार नवीकरण गर्न नसकेको पनि उजुरीमा उल्लेख छ ।

पीएसजीले यो सिजन जियानलुइजी डानारुमा, सर्जियो रामोश, असरफ हाकिमी, जर्जिनियो विज्नाल्डमजस्ता हाइप्रोफाइल खेलाडीलाई अनुबन्ध गरिसकेको छ । त्यसमाथि त्यहाँ किलियान एम्बाप्पे, नेयमार र मार्को भेराटीजस्ता धेरै तलब लिने स्टार खेलाडीहरु पहिले नै छन् । एजेन्सी