Logo

बागमती पेज

भाद्र १८, २०७८ शुक्रबार

माओवादीसँग पार्टी एकता हुँदैन : माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए । उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलीन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए । उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गरे । केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।