Logo

बागमती पेज

मंसिर ७, २०७८ मंगलबार

अध्यक्ष उठ्ने निर्णय गरिसकेको छैन : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदमा उठ्ने नउठ्ने टुंगो गरिनसकेको बताएका छन्।

काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले अहिलेसम्म आफूले निर्णय गरिनसकेको बताए।

‘मैले अहिलेसम्म उठ्ने नउठ्ने टुंगो गरिसकेको छैन, ओलीले भने, मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ, नभए उठ्न पनि पाइन्छ। मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन।’

भीम रावलको उम्मेदवारीबारे उनले आफूलाई चुनौति दिएको भन्न नमिल्ने तर्क गरे ।

‘मलाई भीम रावलले चुनौति दिनुभएको होइन, सुझाव दिनुभएको हो। आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। बढी खट्नुभएको छ, थकाइ लाग्या होला आराम गर्नुहुन्छ कि ! म उठ्छु भन्नुभएको हो।’ ओलीले थपे, ‘उहाँको सुझाव एक खालका मानिसहरुले मन पराउने खालका छन्, मैले विश्राम लिए हुन्थ्यो भन्ने केही पार्टी बाहिरकाको पनि छ।’

तपाईको मनले खाएका वरिष्ठ उपाध्यक्ष र महासचिव को हो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, जो निर्विरोध निर्वाचित हुन्छ अथवा सर्वाधिक भोट ल्याएर चुनाव जित्छ उही मेरो मनले खाएको वरिष्ठ उपाध्यक्ष र महासचिव हुन्छ ।