Logo

मेघनाथ पहाडी

मंसिर १४, २०७८ मंगलबार

को हुन्, बागमती प्रदेशको कान्छा अधिवेशन प्रतिनिधि सविन !


काठमाडौं । रामेछापकाे गोकुलगङ्गा गाउँपालिका वडा नं ४ बेतालीका सविन विश्वकर्मा २३ वर्षको उमेरमा प्रदेश अधिवेशन प्रतिनिधि बनेका छन् ।

निरन्तर लागेपछि कुनै पनि क्षेत्रमा जीत हाँसिल गर्न सकिन्छ भन्ने कुराको प्रतिनिधी पात्र हुन् रामेछापका २३ वर्षीय सविन विश्वकर्मा। रामेछापबाट प्रदेश अधिवेशन प्रतिनिधि बनेका  विश्वकर्माले आफु बागमती प्रदेशकै कान्छा प्रदेश अधिवेशन प्रतिनिधि भएको दाबि गरेका छन् ।

विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बनेका थिए । गत असोजमा सम्पन्न जिल्ला स्तरीय अधिवेशमा चार जना पाका उम्मेदवारलाई पराजित गरेपछि प्रदेशको सवैभन्दा कान्छा प्रतिनिधि बन्न सफल भएका हुन् । बाग्मती प्रदेशको सवै जिल्ला अधिवेशन सकिएपछि उनी सवै भन्दा कान्छामा परेका हुन् । जिल्ला अधिवेशनमा ६ सय ८९ मतदाता रहेकोमा विश्वकर्माले २ सय ९६ मत प्राप्त गरी बिजयी भएका थिए ।

परिवारमा सानैदेखि नेपाली काँग्रेसको राजनीतिको प्रभाव परेपछि विश्वकर्मा १४ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर निरन्तर नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका छन् । उनलाई नेविसंघमा नै बसेर काम गर्न धीरज खत्री, उज्ज्वल राम घिमिरे, रत्नहरी ढुंगेल उत्तम कार्की लगायतका विद्यार्थी नेताहरुले प्रेरित गरेको उनले बताए  । सुरुमा श्री जनजागृत उच्च माध्यमिक विद्यालय वेताली रामेछापको इकाइ समिति सभापति रहेर काम गरे । त्यसपछि मन्थली शहिद स्मारक बहुमुखी क्याम्पसमा उपसभापति र कार्यवाहक सभापति बने । २०७७ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्यको रुपमा सक्रिय छन् ।

मंसिर १६ गते आयोजना हुने बाग्मती प्रदेशको अधिवेशनको उम्मेदवार समेत हुने उनको योजना छ। ‘टिममा परें भने प्रदेश समितिको उम्मेदवार बन्ने सोंचेको छु’ सविनले बागमती पेजसँग भने ।

परिवारका हजुरवुवा राजनीतिमा सक्रिय भएकोले आफु पनि राजनीतिमा आकर्षित बनेको विश्वकर्मा बताउछन् । अवको बाँकी जीवन पनि राजनीतिमा सक्रिय हँुदै समाजसेवा गर्ने उनको योजना छ । राजनीतिमा लाग्नु सम्भव छैन र लाग्नु हुन्न भन्ने कमजोर मानसिकताको कारण दलित समुदाय सक्रिय राजनीतिमा कम भएको उनको भनाई छ ।

आफु राजनीतिमा उच्च निकायमा पुगेर दलित समुदायको मुक्तिको दिशामा नीति बनाउने र समग्र देशको मुहार फेर्न अठोट रहेको बताउँदै  युवाहरु राजनीतिमा अघि बढेपछि मात्र समग्र बिकास गर्न सकिने उनले बताए ।