Logo

बागमती पेज

मंसिर १७, २०७८ शुक्रबार

सेन्ट लरेन्सको रजत जयन्ती भव्यरुपमा सम्पन्न


काठमाडौं । सेन्ट लरेन्स कलेजले शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा २५ औं वसन्त पार गरेको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिको रुपमा रहेका थिए । ‘सेन्ट लरेन्सले २५ वर्ष पुरा गर्दै नयाँ यात्रा तय गरेको छ,’ उनले भने, ‘यो अवधिमा हासिल गरेका सफलता, असफलता, चूनौति लगायतका बारेमा समिक्षा गर्नुपर्छ ।’

उनले भने, ‘मैले एसएलसी दिएको ५५ वर्ष भएछ र कलेज भर्ना भएको ५४ वर्ष बितेछ । मेरो चाटर्ड अकाउन्टेन्ट बन्ने ठूलो सपना थियो तर पुरा भएन,’ त्यसपछि रुचि समाजसेवामा थियो त्यसैले कोर्स राजनीति तर्फ मोडियो ।’

कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले २५ वर्षसम्म कलेजले सञ्चालन गरेका कार्यक्रमलाई थप गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले अहिलेसम्म जे-जे गर्यौं अब त्यसलाई थप परिस्कृत बनाउनेछौं । कलेको गहना भनेकै तपाईहरु हो, त्यसकारण कसरी गुणस्तरीय शिक्षा दिने भन्नेमा दिनरात खटिनेछौं ।

प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठ टीम वर्कमा काम गरेकाले यो सफलता हासिल गरेको बताउँछन् । अहिले सेन्ट लरेन्सको छाताभित्र ३५०० विद्यार्थी अध्ययनरत छन् । ‘३५०० विद्यार्थी छन् भन्न पाउँदा गर्व लाग्छ । यसको सफलताको सुत्र भनेकै टिम वर्क हो ।’

‘अहिले १० जनालाईमात्र सम्मान गर्यौं अब छिट्टै २५ वर्षयताका विद्यार्थीलाई भेला पारेर सम्मान गर्ने योजना रहेको जानकारी गराए । कार्यक्रममा भूतपूर्व विद्यार्थीहरुलाई रजत विद्यार्थीबाट सम्मानित गरिएको थियो ।

अध्यक्ष केशवप्रसाद दंगालले कलेजले २५ औं वर्ष पार गर्दै गर्दा विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीले गरेको विश्वासलाई टुट्न नदिने बाचा गरे । सबैको विश्वास र हाम्रा फ्याकल्टिजहरुको मेहनतले हामी नेपालकै टप कलेजको सूचीमा गनिन्छौंं,’ उनले भने, ‘हाम्रो गुणस्तरीयता र विश्वास कायम राख्न हरपल प्रयत्न गरिरहनेछौं ।’

कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । थियो । वातावरण जोगाउने अभियानमा काम गर्दै आएको ग्रिन आर्मीलगायत कलेजमा गठिन विभिन्न क्लबका सदस्यलाई सम्मान गरिएको थियो । ग्रिन आर्मीमा यस कलेजबाट ६० जना क्याडेट आवद्ध छन् । उनीहरुलाई व्याच वितरण गरिएको थियो । यसैगरी, कलेजले रजत जयन्तीकै अवसरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत समेत गरेको थियो ।