Logo

बागमती पेज

मंसिर २४, २०७८ शुक्रबार

मलाई मात्र होइन, सभापतिका लागि पनि भोट माग्न आउँछु : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।

बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् ।

‘मेरो सभापति को हुनुहुन्छ ? अहिलेसम्म मलाई पनि थाहा छैन । तर यति कुरा भन्छु –म आफ्नो लागि मात्रै मत माग्न पर्सि तपाईंहरुको बीचमा उभिन्न । म जसलाई सभापतिको मत हाल्छु । मैले सभापतिको उम्मेदवार उसैलाई मान्दछु । र किन मत हालियो भन्ने प्रश्नको उत्तर पनि लिएर तपाईहरुको बीचमा आउँछु’ थापाले भने ।

महामन्त्रीका उम्मेदवारको हैसियतले आफूले प्रस्तुत गरेको राजनीतिक कार्यदिशा कार्यान्वयन गर्न पनि मूल नेतृत्व राम्रो हुनुपर्ने थापाले बताए ।

‘…पार्टीको मूल नेतृत्व भनेको फेरि पनि सभापतिनै हो । जनताले काँग्रेस भनेर हेर्ने मुख्य नेतृत्वलाई नै हो । त्यो मुख्य नेतृत्वलाई हेर्दै गर्दाखेरि ठीक देखिएन भने मैले भनेको जस्तो भरोसा गर्न योग्य देखिएन भने महामन्त्रीले उफ्रिएर कहिलेकाहीँ बिचसम्म मात्र पुग्न सक्छ । माथिको सिलिङ छुने अवस्था नआउन पनि सक्दछ’ थापाले भने ।

आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गरे ।

‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।

आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।