Logo

बागमती पेज

मंसिर २६, २०७८ आईतबार

अनौठो थेरापी : सुन्दरता बढाउन अनुहारमा ५० थप्पड


संसारमा सुन्दरताको पारखी को पो नहोला र ? अनुहार तथा जीउडालको सुन्दरता बढाउनका लागि अनेक खालका उपायहरू अपनाउँछन् मान्छेहरू । के तपाईंले अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलनका बारेमा सुन्नुभएको छ ?

हो, दक्षिण कोरियामा मानिसको अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलन छ । थप्पड हानेर अनुहारको सुन्दरता बढाउने त्यो विधिलाई थप्पड थेरापी अर्थात् ‘स्लाप थेरापी’ भनिन्छ, जुन दक्षिण कोरियामा निकै लोकप्रिय छ ।

दक्षिण कोरियाली महिलाले सदियौंदेखि सुन्दरता बढाउन यो थप्पड थेरापीको प्रयोग गर्दै आएका छन् । जसअनुसार महिलाहरू आफ्नो सुन्दरता बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड हान्ने गर्दछन् ।

यसरी गालामा थप्पड खानाले अनुहारको छालामा निखार आउने र पहिलेभन्दा सुन्दर बन्ने आम विश्वास छ । यो थेरापीमा जब गालामा हल्का थप्पड हानिन्छ तब अनुहारका हरेक हिस्सामा ताजा रगतको बहाव बढ्दछ । यसले छाला सफा गर्न मद्दत गर्दछ र अनुहारमा चमक आउँछ ।

हुनत थप्पड थेरापीको अर्थ कसैको अनुहारमा जोडसँग हिर्काउने होइन । यसमा विस्तारै हल्का हातले गालामा थप्पड हानिन्छ । महिलाहरू आफ्नै हातले आफ्नो गालामा थप्पड हानेर यो थेरापी गर्न सक्दछन् । यसमा दुईवटा हातले दुई गालमा छिटो छिटो हल्का थप्पड मार्नुपर्दछ ।

दक्षिण कोरियामा प्राचीन कालदेखि नै प्रचलित यो थेरापी अहिले कोरियाली संस्कृतिको फैलावट सँगै विश्वव्यापी बन्न थालिसकेको छ ।

दक्षिण कोरियामा महिलाहरूले बच्चैदेखि यो थेरापीको प्रयोग गर्दै आएका हुन्छन् । महिला मात्र होइन पछिल्लो समय पुरुषहरूले पनि थप्पड थेरापी प्रयोग गर्न थालेका छन् । यसलाई एन्टी एजिङ थेरापी पनि भन्ने गरिएको छ । एजेन्सी