Logo

बागमती पेज

मंसिर २७, २०७८ सोमबार

काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन मुख्यमन्त्री पाण्डेकाे आग्रह‍‍‍‍‍‍…


हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकार मातहत काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन आग्रह गरेका छन् ।

हेटौंडामा आइतबार शुरु अन्तर प्रदेश समन्वय बैठकमा मुख्यमन्त्री पाण्डेले मुख्य सचिव शंकरदास बैरागीलाई लक्षित गर्दै प्रदेशमा काम गर्न कर्मचारीको अभाव भएकाले संघीय सरकार मातहत काम नगरी बस्नेहरुलाई प्रदेशमा खटाउनुपर्ने बताएका हुन् ।

उनले कर्मचारी कम भएपछि स्वाभावैले कम काम हुने भन्दै ‘कामै नगरी बस्ने एक थुप्रो कर्मचारी छन् अन्य प्रबन्ध नभएसम्म काजमा खटाइ दिन’ आग्रह गरे ।

बागमती प्रदेशमा ४३ प्रतिशत कर्मचारी खाली रहेको भन्दै संघीय निजामती सेवा ऐन नआउँदा प्रदेशले कर्मचारीसम्बन्धी ऐन ल्याउन नपाएको पनि गुनासो गरे ।

अहिले प्रदेश सरकारले कायम रहेको ८ मन्त्रालयलाई फुटाएर १४ वटा बनाएकाले त्यहाँ सचिवको व्यवस्थापनका लागि संघले चाडै ध्यान दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । पहिला रहेका मन्त्रालयका मन्त्री तथा कर्मचारी मालदार ठाउँमात्र हेर्ने गरेपछि सरकारले मन्त्रालय फुटाएको उनले बताए ।

संघीय सरकारले नै संघीयताविरुद्ध काम गरिरहेको आरोप लगाउँदै मुख्यमन्त्री पाण्डेले साना योजना प्रदेश र स्थानीय तहबाटै हुने भन्दै त्यस्तामा सशर्त अनुदान बन्द गर्न आग्रह गरे ।

बैठकमा मुख्य सचिव शंकरदास बैरागीले संघीयतापछि पनि जनताले पाउनुपर्ने सेवा समयमा नपाएको भन्दै अब छिटो र छरितो ढंगबाट काम गर्नुपर्ने बताए । २८ गतेसम्म चल्ने बैठकमा सातवटै प्रदेशका प्रमुख सचिवहरु सहभागी छन् ।