Logo

बागमती पेज

मंसिर २७, २०७८ सोमबार

पार्टीकाे नेतृत्व परिवर्तन भएरै छाेड्छ : शेखर काेइराला


काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले यस पटकको निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन्।

सभापति शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै कोइरालाले नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन्।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पनि बताएका छन्।

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले भने, ‘वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ। हामीले भेटेका पनि छौँ। सबै टीमलाई उहाँहरूको आशीर्वाद छ।’

सँगसँगै नेतृत्व परिवर्तनपछि गठबन्धन सुदृढ र संगठित भएर निर्वाचनमा होमिने उनले बताए। यो सरकारलाई अझ मजबुत गर्ने प्रयास आफ्नो नेतृत्वले गर्ने उनको भनाइ छ। आफूहरूले गतिशील र ऊर्जाशील कांग्रेस बनाउन गइरहेको भन्दै कोइरालाले नयाँ विचार र कार्यशैलीबाट अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले आफू नेतृत्वमा आए पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई सुदृढ गरेर अघि बढ्ने बताउँदै त्यसलाई क्रियाशील र जिम्मेवार बनाएर लैजाने पनि प्रण गरे।