Logo

बागमती पेज

मंसिर २९, २०७८ बुधबार

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

नगरपालिकाले विगत दुई वर्षभित्र सञ्चालन गरेका पाँच लाखभन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो।

स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो एवं उजुरी बढेपछि अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलवार चाँगुनारायण नगरपालिकाका योजनाको कागजपत्र नियन्त्रणमा लिएको हो।

टोलीले योजनाको लागत इष्टमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ। यस्तै गरी नगरपालिकाको खरिद प्रक्रियाका बारेमा पनि अनुसन्धान गर्ने अख्तियारले जनाएको छ।

नगरपालिकामा अख्तियारको टोलीले छानबिन गरेको पुष्टि गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले टोलीलाई आवश्यक सहयोग गर्ने बताए। टोलीले विभिन्न योजनाका कागजपत्र माग गरेको र सो अध्ययन गरी सम्बन्धित निकायका कर्मचारीसँग सोधपुछसमेत गरिरहेको नगरप्रमुख मिश्रले जानकारी दिए।

‘अख्तियारको टोली बिहानैदेखि अनुसन्धान गरिरहेको छ। टोलीलाई मेरै कार्यकक्षमा राखेको छु,’ उनले भने। अख्तियारको टोली नगरपालिकामा एक हप्ता रहने जानकारी पाएको नगरप्रमुख मिश्रले बताए।

‘टोलीले स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको जनगुनासो बढेपछि अख्तियारले स्थानीय तहमा योजना कार्यान्वयनको अवस्था, भुक्तानी र खरिद प्रक्रियाका बारेमा विस्तृत अध्ययन गर्ने उद्देश्यले अनुसन्धानका लागि आएका हौं भनेर जानकारी दिएको छ,’ नगरप्रमुख मिश्रले भने, ‘बाँकी अनुसन्धानको पाटो सकिएपछि थाहा होला।