Logo

बागमती पेज

पुस २, २०७८ शुक्रबार

कुमारी बैंकको परिपक्क निर्णयले १३ जना जोगिए


काठमाडौँ । कुमारी बैंकको परिपक्क निर्णयले १३ जना जोगिएका छन् । १९ करोड ऋण प्रकरणमा बैंकले परिपक्क निर्णय गरेकाले बैंकका कर्मचारीसहित १३ जना बैङ्किङ कसुर मुद्दा चल्नबाट जोगिएका हुन् ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन प्रकरणमा बैंकले मुद्धा पर्नभन्दा पहिलानै ऋण असुल गरिसकेकाले विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैङ्किङ कसुर मुद्दा चलाउन अस्वीकार गरेको हो ।

बैंकिङ कसुर मुद्दा विशेष सरकारी वकिल कार्यालय मार्फत मात्रै अदालतमा दर्ता गर्ने व्यवस्था छ । केन्द्रीय अनुसन्धान ब्युरोले कुमारी बैङ्कको न्यूरोड स्थित कर्जा शाखाका प्रमुख गोपाल जोशी सहित १३ जनालाई विपक्षी बनाएर मुद्दा चलाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

अनुसन्धानबाट कर्जा प्रवाहमा कुमारी बैङ्कको वीरगन्ज शाखाका कर्जा प्रमुख राजेश्वर प्रसाद शाह, केन्द्रीय कार्यालय स्थित कर्जा विभागमा कार्यरत अजित राई, न्यूरोड शाखाका कर्जा प्रमुख गोपाल जोशी र वीरगन्ज शाखाका सोनु ठाकुरको संलग्नता खुलेको थियो ।

ब्युरोले जग्गा मूल्याङ्कनकर्ता राजेश कुमार चौरसिया, किर्ते कागजात बनाएर ऋण लिनेहरू कुशन प्रधान, उविन्द्र राज शाक्य, शोभा शाक्य, ईश्वर पोखरेल ‘सफल’, रेशम बहादुर सिलवाल, मुक्तिनाथ गौतम, यस कुमार महर्जन र विजय कुमार शाक्यलाई बैङ्किङ कसुर मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बारामा अमात्यको नाममा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैङ्कको न्युरोड शाखाबाट १९ करोड ऋण लेनदेन गर्ने समूहबारे सिआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरेर विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, बुधवार विशेष सरकारी वकिल कार्यालयले सो मुद्दा अगाडी नबढाउने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नक्कली पुर्जा बनाएर १९ करोड ऋण लिने समूहका कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतम र कुमारी बैङ्कको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुरलाई सरकारी लिखत ‘किर्ते’ मुद्दा चलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो समूहलाई बैंकिङ कसुर मुद्दा पनि चलाउन निर्देशन दिएको थियो ।

विशेष सरकारी वकिल कार्यालयका प्रमुख ध्रुव चौहानले जाहेरी पर्नुअघि नै ऋण सेटल गरिसकेको देखिएको हुनाले मुद्दा नचलाउने निर्णय गरिएको बताए । चौहानले भने–‘त्यो लोन सेटल गरेको देखियो, किर्तेमा जाहेरी पर्नुभन्दा अघि नै जुन पैसा कम्पनीले लियो त्यो सेटल गरिसकेको देखिएको हुनाले यो निर्णय गरेका हौँ ।’

अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा लेनदेन गरिएपछि मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली पुर्जा राखेर कर्जा लिएको थाहा पाएपछि बैङ्कले सो समूहलाई अर्को धितो राख्न लगाएर कर्जा असुल गरेको थियो । त्यही आधारमा टेकेर विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनमा अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको र सो ऋण चुक्ता गरेको उल्लेख गरिएको छ । कागजात किर्ते गरेर ऋण लिएको विषय राफसाफ भैसकेको देखिएको हुनाले सो निर्णय गरिएको चौहानले जिकिर गरेका छन् ।

लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले नक्कली कागजात बनाएर जग्गा किन्ने यश कुमार महर्जन ‘एसके’, मुक्तिलाल गौतम र कुमारी बैङ्कका कर्मचारी सोनु ठाकुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जग्गा मूल्याङ्कनकर्ता कन्सल्ट्यान्ट राजेश कुमार चौरसिया १ लाख धरौटीमा छुटेका छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ गरेर अनुसन्धान गरेका थियो ।