Logo

मेघनाथ पहाडी

पुस ९, २०७८ शुक्रबार

जिनाखु माविको ८ कोठे भवन सांसद राजन दाहालद्वारा उद्घाटन


काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-१२ स्थित जिनाखु माविको निर्माण सम्पन्न भवन बागमती प्रदेशका सांसद राजन दाहाल र दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले उद्घाटन गरेका छन् ।

नेपाल सरकार र नर्वे सरकारको तीन करोड १३ लाखमा निर्माण सम्पन्न जिनाखु माध्यमिक विद्यालयको ८  कोठे भवन उद्घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय लामाले बागमती पेजलाई जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद राजन दाहालले विद्यालय भौतिक रुपमा मात्र सुन्दर बनाउने भन्दा पनि गुणस्तरिय शिक्षामा ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

सांसद दाहालले जिनाखु माविलाई अझ भौतिक तथा शैक्षिक रुपमा सुधार गर्न आवश्यक पर्ने विभिन्न किसिमका साथ सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि नगर प्रमुख घनश्याम रावतले पालिका भित्र भएका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तरका लागि नगरपालिकाले विभिन्न योजना तयार गरेको जानकारी गराएका छन् । नगरपालिका भित्रका विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन समेत लागि परेको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय लामाले भवन उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गर्दै विद्यालयको बाहिरी आवरणले मात्र पढाई राम्रो नहुने भन्दै शिक्षकहरुलाई पढाईमा गुणस्तर ल्याउन समेत आग्रह गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक जीतबहादुर मगरले विद्यालय निर्माणमा सहयोग गर्ने सम्पुणर्मा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा थप सुधार ल्याउन शिक्षकहरुलाई अनुरोध गर्दै आफूपनि लागि पर्ने प्रतिवद्धता जनाए ।