Logo

बागमती पेज

बैशाख ४, २०७९ आईतबार

सामाजिक अभियन्ता ज्वाला संग्रौला राजनीतिमा ‘इन्ट्री’


काठमाडौं । सामाजिक अभियन्ताका रुपमा चर्चा बटुलेकी ज्वाला संग्रौलाको अहिले दिनचर्या फेरिएको छ । राजनीतिको बाटो पछ्याएपछि पार्टीको झण्डा बोकेर आमसभाहरुमा उनी दौडधुप गरिरहेकी छिन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भित्र्याएको हो । यो पार्टीले नेपालमा राजसंस्थाको वकालत गर्दै आएको छ ।

नयाँ बर्षको अवसर पारेर राप्रपाले संग्रौलालाई पार्टीमा भित्र्याएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई स्वागत गरेका थिए । पार्टी प्रबेशपछि संग्रौला विभिन्न सभाहरुमा सहभागी हुँदै आएकी छिन् । विभिन्न सामाजिक काम गरेर चर्चामा आएकी संग्रौला खरो टिप्पणी गर्ने व्यक्तिमा पर्छिन् ।

उनका अभिव्यक्ति बेलाबेलामा विवादमा आएपनि उनका समर्थकहरु उनलाई सहयोगीका रुपमा चित्रण गर्छन् । संग्रौलाको पहलमा आर्थिक सहयोग जुटाएर दर्जनौं पीडितहरुले उपचार पाएका छन् । विगतमा उनि विपन्न, वेसहरा, ठगिएका, उत्पिडन लगायत विभिन्न पीडित व्यक्तिहरुको उद्धारमा खटिंदै आइन् । उनलाई पार्टीले केन्द्रीय सर्कलमा राख्ने तयारी गरेको छ ।

त्यसैगरि, राप्रपाले यतिबेला धेरै व्यक्तिलाई पार्टीमा भित्र्याइरहेका बेला कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिने बारेमा गृहकार्य शुरु गरेको छ । यो साता अन्य चर्चित व्यक्तिहरु पनि राप्रपामा प्रवेश गरेका छन् । कास्की कांग्रेसबाट राजनीति गरेकी जिता बराल, महासमितिका सदस्य रोहन राउत क्षेत्री, पुर्व डिआइजी मन्दिप श्रेष्ठ, माओबादी केन्द्रकी हसिना शाक्य लगायत राप्रपामा प्रबेश गरेका थिए । चितवन लगायतका कार्यक्रममा पनि विभिन्न पार्टी छोडेर दर्जनौं व्यक्ति प्रबेश गरेका थिए । अन्य पार्टी छोडेर प्रबेश गर्नेलाई महत्वपुर्ण जिम्मेवारी दिने तयारी शुरु गरिएको राप्रपाले जनाएको छ ।

अध्यक्ष लिङ्देन सहितको केन्द्रीय टोली अहिले चितवन लगायत मध्य नेपालका जिल्लाहरुमा चुनावी सभाहरुमा सक्रिय छ । राप्रपाले भोली ५ गते सोमबार केन्द्रीय कार्यालयमा अन्य धेरै महत्वपुर्ण व्यक्तिलाई पार्टी प्रबेश गर्ने कार्यक्रम आयोजना गरेको जनाएको छ । अध्यक्ष लिङ्देनले फेसवुकमा एक सन्देश जारी गर्दै पार्टी प्रबेश गर्नेहरुलाई स्वागत गर्ने जनाएका छन् ।