Logo

बागमती पेज

बैशाख ७, २०७९ बुधबार

महानगर नपाएपछि कांग्रेस कार्यकर्ताले लगाए आफ्नै कार्यालयमा ताला


काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्।

सचिवद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ। हामी पनि विधानअनुसार निर्वाचित भएका हौँ। यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ।’

सत्ता स्वार्थभन्दा बाहिर रहेर जनता र कार्यकर्ताको मनोभावनामा केन्द्रित रहेर पार्टी कार्यालयमा तालाबन्दी गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्।

‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ।