Logo

मेघनाथ पहाडी

बैशाख १२, २०७९ सोमबार

नेपाली कांग्रेस बूढानीलकण्ठ प्रमुखमा विनोद चालिसे


काठमाडौँ । नेपाली काँग्रेसबाट बूढानीलकण्ठ नगरप्रमुखको उम्मेदवारमा विनोद चालिसे आफ्नो उम्मेदवारी दिएका छन् । नेता चालिसे नेपाली कांग्रेस भित्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाका निकट मानिने नेता चालिसे ०४६ सालदेखि प्रजातन्त्र पाप्तिको आन्दोलनदेखि राजनीतिमा होमिएका हुन् । उनले २०४८ सालको संसदीय निर्वाचन नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए ।

०५० सालदेखि नेबिसंघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव हुँदै २०५३ सालमा नेबिसंघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा समेत निर्वाचित नेता हुन् विनोद चालिसे ।

नेपाली काँग्रेसको राजनीतिमा तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे साविक कपन गाउँ विकास समितिको इकाई सभापति, बूढानीलकण्ठ नगर समिति सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका लागि समेत प्रतिनिधिमा छनोट भईसकेका छन् ।

नेता चालिसेले २०७२ सालको भूकम्प होस् वा कोभिड १९ को महामारी दुवै अप्ठ्यारो समयमा पार्टीको तर्फबाट नगर विपत व्यवस्थापनमा सहयोग गर्नुका साथै स्वयमसेवी रुपमा समेत जनसेवा गरेका छन् ।