Logo

मेघ नाथ पहाडी

जेष्ठ १०, २०७९ मंगलबार

महामन्त्री गगनको क्षेत्रमा काँग्रेसको पत्तासाफ, नगर देखि सबै वडामा एमालेको विजयी !


काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । देशभर निर्वाचनको नतिजा सार्वजनिक भएसँगै काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा पनि नतिजा सार्वजनिक भएको हो ।

बूढानीलकण्ठ क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो । काठमाडौं क्षेत्र नं ४ बाट गगन थापा २०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

महामन्त्री थापाको क्षेत्रमा नेपाली कांग्रेसलाई नेकपा एमालेले पत्तासाफ बनाएको छ । बूढानीलकण्ठका १३ वटा वडामध्ये ८ वटा वडा गगन थापाको क्षेत्रमा पर्दछन् । जहा नेपाली कांग्रेसबाट कुनैपनि वडाको वडाध्यक्ष निर्वाचित हुन सकेका छैनन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै गगन थापा आफ्नो क्षेत्रमा कांग्रेस जिताउन निकै दौडधुप गरेका थिए । उनले समान्य घरदैलो देखि नगर स्तरिय कार्यक्रममा समेत आफ्नो उपस्थिति जनाए ।

फलस्वरुप उनको क्षेत्रमा पर्ने कुनैपनि वडामा नेपाली कांग्रेसले जित हासिल गर्न नसक्दा उनमा निकै निराशा छाएको छ । स्थानीय निर्वाचन सम्पन्न भएसँगै संघ र प्रदेशको निर्वाचन समेत नजिकिदै छ । आगामी निर्वाचनमा गगन फेरी उठ्नेमा खासै सङ्का मान्नुपर्ने कुनै कुरा छैन ।

महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको पत्तासाफ भएको छ ।

थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् ।

यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ । यो नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए । त्यस्तै वडा नम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउन बाध्य भए ।

वडानम्बर ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए । वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मतमात्रै पाए ।

९ नम्बरमा एमालेकी त्रिपाठीले ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाए । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए ।

११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत मात्रै पाए । १२ नम्बर वडामा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले क्रमश १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमश ११४२ र १४७३ मत मात्र पाए ।

बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ ।

२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका डा. राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजय भएका थिए ।