Logo

मेघनाथ पहाडी

जेष्ठ २०, २०७९ शुक्रबार

प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार : मुख्यमन्त्री पाण्डे


काठामाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मुल आधार भएकाले एकतावद्ध रुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताए ।

उनले निजी क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको विकासका लागि उद्योग पाठशाला खोल्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा काम गर्न सक्ने बताए । उनले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र काममा लगाउन उद्योगीहरुलाई आग्रह गरे ।

‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ,’ उनले भने । उनले चितवन उद्योग बाणिज्य संघलाई उद्योग पाठशाला खोल्न दशलाख रुपैयाँ सहयोग गरिसकेको बताए । उनले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

‘उद्योगहरूले भने अनुसार नीति नियम हामी दिन्छौं । तपाईंहरु लगानी गर्न आउनुहोस् । सरकारले यो गरेन त्यो गरेन भन्दा पनि गर्नु पर्ने के हो त्यो सहित आउनुहोस् । हाम्रो क्षेत्रबाट हुने हामी गर्छौ । हामीबाट नहुने केन्द्र सरकारमा पठाउँछौ । याद रहोस् औधोगिक क्षेत्र र उद्योगको विषय संघीय सरकार मातहत छ,’ उनले भने ।

उनले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । उनले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन जरुरी रहेको औंल्याएका थिए । मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।

‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ’, उनले भने,‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’

उनले हेटौंडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको समेत बताए । उनले सरकारको आगामी आर्थिक वर्षको बजेटमा पनि उद्योग क्षेत्रको समस्याहरु समाधान गर्नेमा विश्वस्त रहन आग्रह गरे ।

‘हामी उद्योग क्षेत्रको समस्या समाधान गर्न तयार छौं । बजेट बनाउने चण जारी छ । केही त्यस्तो विषय छ भने ल्याउनुहोस् । सक्ने जति समस्याहरु बजेटबाट सम्बोधन गर्ने प्रयास गछौं ,’ उनले भने ।