Logo

बागमती पेज

जेष्ठ २४, २०७९ मंगलबार

मन्त्रालयको नाम श्रम तथा बेरोजगार मन्त्रालय राखौँ : सांसद दुर्गा पौडेल


काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद पौडेलले देशलाई ठूला, मझौला र साना योजना आवश्यक रहे पनि ती योजना कार्यान्वयन भयो कि भनेर अनुगमन गर्नुपर्ने संयन्त्र नभएको बताइन् ।

उनले साना प्रकारका योजना स्थानीय तहलाई जिम्मा दिए पनि त्यसको कार्यान्वयन कसरी भएको छ भनेर अनुगमन नहुने बताइन् । बजेट कहाँ कसरी गएको छ, कार्यान्वयन भएको छ कि छैन भनेर कुनै मतलब नराख्ने र सबैतिर अस्तव्यस्तको अवस्था रहेको उल्लेख गरिन् । ठेक्का दिए पनि ठेकेदारले काम नगर्ने, विवादित ठेकेदारले ठेक्का पाउने गरेको गरेको, बजेट विनियोजन गरे पनि कार्यान्वयन नहुने भएकोले भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौती गर्न माग गरिन् ।

उनले श्रम तथा रोजगार मन्त्रालयले बेरोजगार मात्र उत्पादन गर्ने भएकोले मन्त्रालयको नाम फेरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न सुझाव दिइन् । उनले युवालाई तालिम दिएर विकासमा सहभागी गराएर रोजगारी दिनुपर्नेमा बेरोजगार भएर विदेशमा पलायन भइरहेको बताइन् ।

उनले भनिन्–‘युवाहरू आफ्नो श्रम विक्री नभएर विदेश पलायन हुन बाध्य छन् । उनीहरूलाई रोजगारी दिएर रोक्न सरकारसँग कार्यक्रम छैन । उनीहरू हरेक दिन एयरपोर्टमा लाइन लागेर विदेशको जोखिमपूर्ण काममा गइरहेका छन् । जोखिम मोलेर काम गर्दा निधन भएर काठको बाकसमा आउनुपरेको छ ।’ उनले युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग गरिन् । उनले श्रम तथा रोजगार मन्त्रालयको बजेटमा एक सय रुपैयाँ खर्च कटौती प्रस्ताव गरेको बताइन् । यस्तै संस्कृति पर्यटन मन्त्रालयको बजेटमा पनि सय रुपैयाँ खर्च कटौती प्रस्ताव गरेको बताइन् ।