Logo

बागमती पेज

जेष्ठ २५, २०७९ बुधबार

संयुक्त राष्ट्रसंघकाे आग्रह: साेमालियामा खाद्यान्न अभाव चरम छ, आवश्यक सहयाेग गराैँ


संयुक्त राष्ट्रसंघले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र त्यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो।

सोमालियाका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गरेका हुन्।

उनले सोमालियामा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै त्यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताएका हुन्।

निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उनले बताएका छन्। उनले भनेका छन्, ‘त्यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्। त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ।’

सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ। त्यहाँ अहिले केही वर्षयतादेखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ। रासस